कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउनमा परेर पढाइअवरुद्ध भएका सामुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।
विद्यार्थीले अब शिक्षण सिकाइमा प्रयोग हुने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन अध्यापन निरन्तर गर्नेछन् । निजी क्षेत्रका कतिपय विद्यालयले भने वैशाखबाटै विद्युतीय माध्यमबाट पठनपाठन सुरू गरिसकेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लामो समयसम्म अवरुद्ध पठनपाठनबाट पुग्न जाने शैक्षिक क्षति न्यून गर्न अपरिहार्य भएको भन्दै विद्यालय जाने उमेर समूहका विद्यालयलाई असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरू गरिने २८ जेठमा घोषणा गरेका थिए ।
विद्यार्थीको पठनपाठन प्रभावकारी बनाउन मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहज बनाउन निर्देशिका जारी गरिसकेको छ । निर्देशिकाले विद्यार्थीलाई वर्गीकरण गर्नुका साथै स्थानीय सरकार, विद्यालय तथा शिक्षकले वैकल्पिक शिक्षाको पठनपाठनमा सहयोग गर्नुपर्ने कामका बारेमा स्पष्ट गरिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसलाई कार्यान्वयनमा लैजान स्थानीय तह तथा विद्यालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक गेहनाथ गौतमले विद्यार्थीको सिकाइ निरन्तर बनाउन र शैक्षिक सत्र बिग्रन दिन नहुने पक्षमा विचार गरी वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्न लागिएको बताए । यो विधिबाट गरिने पठनपाठनलाई स्पष्ट पार्न निर्देशिका जारी गरिएकाले स्थानीय सरकार तथा विद्यालयले यसलाई अनुसरण गर्नुपर्ने उल्लेख गरे ।
सरकारले जारी गरेको निर्देशिकामा विद्यालय जाने उमेर समूहका विद्यार्थीको समूहगत वर्गीकरण गर्नुपर्ने उल्लेख छ । सो अनुसार विद्यार्थीलाई सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेको विद्यार्थीको समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थीको समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थीको समूह, कम्प्युटर भएको तर अनलाइन नभएका विद्यार्थीको समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह गरी पाँच समूहमा वर्गीकरण गर्नुपर्ने छ । गाेरखापत्रमा खबर छ ।





प्रतिक्रिया