काठमाडौ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा मनसुनी वायुको प्रभाव बढेकाले केही दिन बर्षाको सम्भावना छ । विभागको मौसम पूर्वानुमान महााखाले निकालेको सूचना अनुसार आज देशभर पानी पर्नेछ । मनसुन देशभरी फैलिएसँगै मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग नजिकै रहने देखिएकाले आगामी केही दिन मनसुनी गतिविधि बढ्ने महाशाखाले जनाएको छ । आज देशका सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार आज राति पनि सातै प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, २, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।





प्रतिक्रिया