काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको हो ।
हिजोको बैठक बुधबार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित गरिएको थियो । आज बिहान नेतृ छन्त्यालको निधनका कारण बैठक अनिश्चित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिनिधिसभा सांसद छन्त्यालको उपचारका क्रममा बुधबार ५२ वर्षको उमेरमा सहिद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको तीनवटा भल्ब ब्लक भएपछि छन्त्यालको मुटुको शल्यक्रिया गरिएको थियो ।
मुटुमा समस्या देखिएपछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्नेसम्बन्धी बैठकमा छन्त्यालको उपस्थिती रहेन । छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।
यसैबीच कांग्रेस संसदीय दलले छन्त्यालको निधनमा गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदन प्रकट गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाणले शोक वक्तव्य जारी गर्दै छन्त्याल राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यहरुमा सक्रिय रहँदै आएकी र उनको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणनीय क्षति पुगेको बताए ।





प्रतिक्रिया