काठमाडौं । राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ पुष्टि भएको हो । पिसिआर विधिबाट परीक्षणका लागि २८ जनाको स्वाब लगिएकामा बुधबार दिउँसो दुई जनामा पोजेटिभ पुष्टि भएको नगर अस्पतालका प्रमुख डा विप्लब अधिकारीले जानकारी दिए ।
नगर अस्पतालबाट हप्तामा दुईदिन सोमबार र शुक्रबार सो परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । कोरोना पोजेटिभ प्राप्त भएकामा गोकर्णेश्वर नगरपालिका वडा नं.– ५ जोरपाटीका एक र कागेश्वरी मनोहरा नगरपालिका वडा नं.–६ मूलपानीस्थित सृजनाटोलका एक गरी दुई जना छन् । दुवै जना केही दिन अघि साउदी र दुबईबाट स्वदेश फर्किएका हुन् । दुवै जना युवा उमेर समूहका भएको अस्पतालले जनाएको छ ।
ती क्षेत्रका मानिसमा कोरोना पोजेटिभको जानकारी पाएपछि असारको पहिलो सातादेखि बढेको चहलपहलमा कमी आएको छ । बुधबार दिउँसो दुईजनामा पोजेटिभको खबर फैलिएपछि धेरैले आआफ्ना व्यापार व्यसाय बन्द गरेका थिए । नजिकै बस्ने मानिसमा कोरोना पोजेटिभ आएको खबर सुनेपछि जोरपाटी चोकमा कम्प्युटर इन्ष्टिच्युट सञ्चालन गर्नुहुने राजेन्द्र डङ्गोल व्यवसाय बन्द गरी घर फकिएएका थिए ।
यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका दुई जनामा यही असार १५ गते कोरोना पोजेटिभ भेटिएको थियो । पोजेटिभ भेटिएका गोकर्णेश्वर ७ शिवचोककी १९ वर्षीय महिला र शंखरापुर नगरपालिका वडा नं। ४ फेदीकी ३९ वर्षीय महिलाको भने ट्राभल हिस्ट्री नभएको गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले बताए ।
यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ६ तामाङ गुम्बा नजिकैका एक महिलामा पनि न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा पिसिआर परीक्षण गर्दा पोजेटिभ भेटिएको शाखाले जनाएको छ । नगर क्षेत्रका सबै सङ्क्रमितलाई हाल विभिन्न अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ ।
सङ्क्रमितको नजिकको परिवारका ११ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि सो प्रयोगशाला टेकुमा पठाइएको छ । स्वाब सङ्कलन गरिएका सबैलाई नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
यसैबीच विहीबारदेखि लागुहुने गरी ललितपुरको महालक्ष्मी नगरपालिकाले वडा. नं. ७, ८ र ९ मा पुनः लकडाउन गरेको छ । ती वडामा रहेकाहरुमा कोरोना संक्रमण देखिएपछि बिहीबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि लागू गरेको हो।
सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाए पनि संक्रमित बढ्न थालेपछि नगरपालिकाले सूचना जारी गर्दै थप संक्रमण फैलिन नदिन वडा नम्वर ७, ८ र ९ मा कडाइका साथ लकडाउन लागू हुने घोषणा गरिएको जनाइएको छ ।
ती वडाभित्र रहेका औषधि र खाद्यान्न पसलबाहेकका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न भनिएको छ। खाद्यान्न पसल पनि बिहान ७ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचनामा उल्लेख गरिएको छ।
औषधि पसल र क्लिनिक भने २४ घन्टा सञ्चालन गर्न पाइनेछ।
सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यन्त जरुरी सेवा बाहेकका सबै सेवा बन्द गरिने सूचनामा उल्लेख छ।
नगरपालिकाले अति आवश्यक कार्यमा बाहेक घर बाहिर ननिस्कन, निस्किनु परे अनिवार्यरुपमा मास्क लगाउन पनि भनेको छ।





प्रतिक्रिया