देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजदूतले नांगै नाच्न पाइन्छ ?

देशान्तर

काठमाडौं । हरेक व्यवसायको आआफ्नो सीमा र मर्यादा हुन्छ । तर आजकल हरेक व्यवसायसित सम्बद्ध व्यक्तिहरू आफ्नो स्वार्थका लागि सीमा र मर्यादा नाघेर छाडा ढंगले अर्को पक्षविरुद्ध नांगो नाच गरिरहेको दृश्य जताततै देखिन्छ । केही समययता नेपालको कूटनीतिक क्षेत्रमा पनि यस्ता घटना बारम्बार भइरहेका छन् ।

पहिले भारसित सम्बद्ध कूटनीतिज्ञहरूबाट विभिन्न ढंगले सीमा नाघेर गैरकूटनीतिक आचरण र व्यवहार गर्ने गरेको देखिन्थ्यो । त्यसको व्यापक आलोचना भएपछि भारतीय कूटनीतिज्ञहरू केही संयमित देखिएको अवस्थामा चिनतर्फबाट यस्तो व्यवहार खुलेआम भइरहेको पाइन्छ । दुई देशबीचको मित्रतालाई प्रगाढ पार्ने र नेपाली जनताको हितमा सहयोग गर्ने भन्दा राजनीतिक सत्तारुढ राजनीतिक दललाई राजनीतिक प्रशिक्षण दिने, कम्युनिष्ट पार्टी प्रतिपक्षमा रहेको बेला उनीहरूलाई एकिकृत गराइदिने, आफूले अपनाएको कम्युनिष्ट सिद्धान्त र विकासको मोडलबारे कम्युनिष्ट पार्टीलाई औपचारिक रुपमै प्रशिक्षण दिने, दुई पार्टीबीच स्थायी प्रशिक्षण सम्बन्धी सम्झौतागर्ने र सरकार संकटमा परेको बेला सरकारलाई टिकाउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने र पार्टीभित्रको आन्तरिक गुटबन्दीमा एउटा पक्षमा लाग्नेजस्ता गैरकूटनीतिक कार्यमा चिनियाँ अधिकारीहरू र राजदूतसमेत प्रत्यक्ष संलग्न हुनु अशोभनिय मात्र होइन आपत्तिजनक कार्य हो । हाल प्रधानमन्त्री ओलीले गरेको भ्रष्टाचार र अधिनायकवादी ढंगले पार्टी तथा सरकार संचालनको विरुद्ध त्यसपार्टीभित्र उत्पन्न विवाद र विग्रहलाई मिलाउने काममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेकपाका ओलीविरोधी नेताहरूको घरघर गएर अहिले सरकारलाई अप्ठेरोमा नपार्न दबाब दिनुलाई पर्यवेक्षकहरुले नांगो नाचको संज्ञा दिएका छन् ।

राजदूतले आफू कार्यरत रहेको देशको कुनै राजनीतिक पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु र आफूलाई मनपरेको व्यक्तिको स्थिती बलियो पार्ने काममा सक्रिय हुनु स्पष्टतः कूटनीतिक मर्यादाको विरुद्ध हो । अन्य कुनै देशको राजदूतले यस्तो काम गरेको भए नेपालमा बबाल भइसक्ने थियो, राजनीतिक दल र नागरिक समाजले जुलुश निकालेर दूतावास घेर्न पुग्ने थिए वा राजदूतको पुत्ला नै जलाउने थिए । तर चीनसितको मित्रतालाई अत्यधिक महत्व दिएर प्रतिपक्ष दल र बुद्धिजिवीहरुले समेत चिनियाँ राजदूतको क्रियाकलापप्रति संयम अपनाएका छन् ।

यसबीच ओलीको सत्ता जोगाउन राजदूत होउले गरेको आपत्तिजनक कार्यलाई प्रस्तुत गर्ने क्रममा जी न्युजलगायत केही भारतीय टिभी च्यानलले अत्यन्त आपत्तिजनक, निन्दनीय र काल्पनिक कथाहरु प्रस्तुत गरेर संचारमाध्यमहरूको प्रतिष्ठामा आघात पुर्‍याउनुका साथै आफ्नो व्यवसायिक धर्मको मानमर्दन गरेका छन् । लोकतान्त्रिक मुलुकको कुनैपनि संचारमाध्यमले यसप्रकारको भ्रामक र काल्पनिक कुरालाई समाचारको रुपमा प्रस्तुत गर्ने कुरा अशोभनिय हो । कतिपय भारतीय संचारमाध्यमहरूले आफ्नो स्वार्थका लागि नेपाललाई अपमानित गर्ने र होच्याउने काम पहिलो पल्ट गरेका होइनन् । यसअघि कतिपय प्रसंगमा उनीहरूले आफ्नो स्वार्थका लागि अवसर र माध्यमको दुरुपयोग गरेका छन् । यसले उनीहरुको र भारतको समेत प्रतिष्ठा र विश्वसनियता गिरेको छ । तर यसको प्रत्युत्तरमा संचारमाध्यमहरूलाई प्रतिबन्धित गर्नु र अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु उचित हुँदैन । त्यस्ता माध्यमहरूलाई वास्तविकताको बोध गराएर क्षमायाचना गर्न र भविष्यमा आफ्नो जिम्मेदारीप्रति सचेत रहन बाध्य पार्ने दिशामा जिम्मेदार सबैले ठोस कदम उठाउनु पर्दछ । भारत सरकारले पनि अभिव्यक्ति स्वतन्त्रताको नाममा मित्रराष्ट्रको प्रतिष्ठा र भावनामा आघात पार्ने काम आफ्ना मिडियाले गरेमा उनीहरुलाई त्यस्तो गल्ती सच्याउन र भविष्यमा नदोहोर्‍याउन बाध्य पार्नुपर्दछ ।
– आजको देशान्तर साप्ताहिकबाट