देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीमा एआईजीका लागि तीव्र प्रतिस्पर्धा

देशान्तर

काठमाडौं । निर्विवाद ढंगले प्रहरी महानिरीक्षक पाएको नेपाल प्रहरीभित्र अब अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० को निम्ति रस्साकस्सी सुरु भएको छ । शैलेश थापा क्षेत्रीको महानिरीक्षकमा बढुवा भएपछि र निवर्तमान आईजीपी ठाकुर ज्ञवालीका ब्याजी एआईजी तारिणी लम्सालले पनि ज्ञवालीसँगै अवकाश लिएपछि यतिबेला नेपाल प्रहरीमा एआईजीको दुई दरबन्दी खाली भएका छन् । नेपाल प्रहरीको तीन एआईजीको दरबन्दीमा रिक्त रहेको दुईमा को पुग्ने भन्नेमा यतिबेला होडवाजी सुरु भएको छ । रिक्त दुई दरबन्दीका लागि तीन दाबेदार प्रकट भएपछि यसमा रस्साकस्सी सुरु भएको हो ।

हालका प्रहरी नायब महानिरीक्षक ९डीआईजी०हरूमध्येबाट वरिष्ठता र कार्यदक्षताका आधारमा दुईजनाले एआईजी हुने अवसर पाउनेछन् । डीआईजी सूर्य उपाध्यायले प्रहरी महानिरीक्षक ज्ञवाली र एआईजी लम्सालसँगै ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाएपछि डीआईजीहरू निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल एआईजीको प्रतिस्पर्धामा छन् । यी तीनमध्ये दुईले एआईजी हुने अवसर पाउनेछन् भने एकले हाललाई यथास्थानमै चित्त बुझाउनुपर्नेछ ।

शाही र पोखरेल प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याचका प्रहरी निरीक्षक हुन् । २०४९ सालमा क्षेत्रीसँगै निरीक्षक भएका उनीहरूले रिक्त एआईजीको दरबन्दीमा आफूहरूको स्वाभाविक दाबी प्रस्तुत गरेका छन् । तर आफ्नो ब्याजमा कार्यसम्पादनको आधारमा एक्लै डीआईजीमा बढुवा भएका पोखरेल शाही र कार्कीभन्दा डीआईजीमा केवल ८ महिनामात्रै कान्छो भएकाले कार्यसम्पादन मूल्याकंनको आधारमा एआईजीमा आफ्नो पनि स्वनभाविक दाबी हुने भन्दै दौडमा लागेका छन् । शाही र कार्की भने पोखरेललाई कुनै पनि हालतमा डीआईजीमै रोक्ने दाउमा छन् । पोखरेललाई एआईजी बन्न नदिन उनकै ब्याचका तर उनीपछि डीआईजी बनेका घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धीरजप्रताप सिंह, वसन्त लामा पनि यतिबेला दौडधुपमा छन् ।

सरकारले अर्यालसहित पोखरेलका ब्याचका ७ जना र त्यसपछिको ब्याचको तीनजना गरी १० जनालाई एकैसाथ गत चैतमा डीआईजीमा बढुवा गरेको थियो । पोखरेल भने एक्लो उम्मेदवारको रूपमा २०७६ वैशाख १९ गते नै डीआईजीमा बढुवा भएका हुन् । पोखरेल अहिले एआईजी बन्न सफल भएमा भावी आईजीपीको बलियो दाबेदार बन्ने भएकाले पनि उनलाई रोक्न प्रहरीभित्र चलखेल भइरहेको स्रोत बताउँछ । शाही र कार्कीले वर्तमान आईजीपी क्षेत्रीसँगै अवकाश पाएपछि पोखरेल नै वरिष्ठ प्रहरी अधिकृत हुनेछन् । यदि त्यतिबेलासम्म पोखरेललाई डीआईजीमा अड्काउन सकेमा आईजीपीको प्रतिस्पर्धामा आफूहरूको दाबेदारी बलियो हुने दाउले पोखरेलका सहब्याजी सात भाइ उनलाई रोक्ने दाउमा एकजुट भएर लागिपरेको स्रोतले बतायो ।

यता पोखरेल भने कार्यसम्पादन र कमान्ड कन्ट्रोलमा कुशलताका कारण प्रहरी संगठनभित्र लोकप्रिय प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । वर्तमान कोभिड संकट सुरु भएपछि प्रहरी परिचालनमा उनले खेलेको सक्रिय भूमिकाको सर्वत्र प्रशंसा हुँदै आएको छ । भावी आईजीपी बन्ने बलियो सम्भावना भएका पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) प्रमुखको रूपमा कार्यरत छन् । त्यहाँ बसेर उनले कोभिड संकटमा प्रशंसनीय भूमिका खेलिरहेका छन् । त्यसैले कार्यसम्पादनमा उनको उच्च मूल्यांकन हुँदै आएको छ । तर पोखरेलले आफूहरूको भाग खोस्ने भयले डीआईजीद्वय शाही र कार्कीलाई यतिबेला पिरोलेको छ भने अहिले एआईजी बनिहालेमा आईजीपीको रेसमा आफूहरू सधैंको लागि छुट्ने भयले सात भाई डीआईजीको गाँठो पनि यतिबेला कसिलो बनेको छ । अहिले नै एआईजीमा बढुवा हुन सकेमा २०७९ साल वैशाख १७ पछि पोखरेल स्वतः आईजीपीको बलियो दाबेदार हुनेछन् । तर पोखरेल एआईजी नभएको अवस्थामा पनि आईजीपी बन्ने सम्भावना भने बाँकी नै रहन्छ । फरक यति हो, त्यतिबेला उनका सहव्याची प्रतिस्पर्धीहरू पनि दौडमा सँगसँगै आउनेछन् । यतिबेलासम्म पोखरेल आफ्नो ब्याचका एकल प्रतिस्पर्धी हुन् ।