पाल्पा । जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । प्रहरीचौकीका लागि जनशक्ति पूरा भएपछि आगामी साउन महिनाभित्र चौकी थपिने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले नयाँ प्रत्येक प्रहरीचौकीमा १५–१५ जनाको दरबन्दी रहेको बताए । प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकले नेतृत्व गर्ने छन् । नेपाल सरकारले गत वर्ष असोज ७ गते पाल्पामा प्रहरीचौकीका लागि प्रहरी दरबन्दी स्वीकृत गरिएको थियो । छहरास्थित पुरानो स्वास्थ्यचौकीको भवनमा प्रहरीचौकीबाट सेवा दिइने छ । पुरानो स्वास्थ्यचौकीलाई रङरोगन गरी प्रहरीचौकी स्थापना गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए ।
रम्भामा प्रहरीचौकीका लागि भवनको खोजी भइरहको छ । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीका अनुसार पीपलडाँडा क्षेत्रमा प्रहरीचौकीका लागि सात दिनभित्र भवनको टुङ्गो लगाउने गरी काम अघि बढेको छ । बगनासकालीमा चिलादीको पुरानो विद्यालयको भवनबाट प्रहरीचौकीको काम अघि बढ्ने छ । विद्यालय गाभिएपछि खाली रहेको विद्यालय भवनमा नै चौकी स्थापना गर्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए ।





प्रतिक्रिया