काठमाडाै । बागलुङ सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण बागलुङका विभिन्न ठाउँमा पहिरो गएको छ।
पहिरोका कारण कतै घर गोठ जोखिममा परेका छन् भने कतै सडकहरू अवरुद्ध भएका छन्। जिल्लाको दक्षिण खण्ड जोड्ने कालिगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडक खण्डमा ठाउँ ठाउँमा झरेको पहिरोका कारण सडकहरू अवरुद्ध भएका छन्।
सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँग सडक सञ्जाट टुटेको जैमिनी–९ पैञ्युथन्थापका स्थानीय गंगा आचार्यले बताए।
वर्षासँगै आएको पहिरोका कारण ताराखोला गाउँपालिकाको एक बालविकास केन्द्र सहित ७ घर पहिरोको जोखिममा परेका छन्। गाउँपालिका वडा नम्बर ४ मा रहेको बाल विकास केन्द्रको भवन नजिकैबाट पहिरो जाँदा जोखिममा परेको छ भने भवनसँगै रहेका अन्य ७ घर समेत पहिरोको जोखिममा रहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए।
ताराखोला–२ को सिलेमा पहिरो जाँदा शहीदमार्ग अवरुद्ध भएको छ। त्यस्तै ताराखोला– ४ बतासे डाँडा, ताराखोला–२ हिल बगरमा पहिरो जादा ताराखोलादेखि हरिचौर हटिया मोटर बाटो खण्ड पनि अवरुद्ध रहेको छ। सदरमुकाम बागलुङ बजारको मिलीजुली चोकमा घर माथिको जमिन भत्किँदा सुनगाभा अफसेट प्रेसमा क्षति पुगेको छ। घरको पछाडिबाट आएको पहिरोका कारण पर्खाल नै भत्केपछि अफसेटमा रहेका सामान पुरिएको प्रोप्राइटर टेक बहादुर केसीले बताए।
अहिले पहिरो पन्छाउने काम चलिरहेको छ। ढोरपाटन, तमानखोला, निसीखोला र काठेखोला गाउँपालिका स्थानीय सडकमा समेत पहिरोले ठुलो क्षति पुर्याएको छ। बरेङ गाउँपालिकामा पहिरोका कारण एक घर विस्थापित भएको गाउँपालिकाले जनाएको छ।





प्रतिक्रिया