काठमाण्डौ – वर्षायाम सुरु भएसँगै देशैभरि बाढी पहिरोको घटना भइरहेको छ । बाढी र पहिरोले ठूलो धनजनको क्षति भइरहेको छ । अहिले देशका विभिन्न ठाउँमा बाढी र पहिरोमा परेर हराइरहेका ४० जनाको खोजी भइरहेको छ ।
स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्बर ४ को खहरेमा गएको पहिरोमा परि तत्कालीन बिर्घा गाउँ विकास समितिका अध्यक्ष ईमानसिंह रानाको मृत्यु भएकोछ ।
मङ्गलबार बिहान पहिरो झरेको थाहा पाए पछि हेर्न गएका ७० वर्षीय रानासहित पाँच जनालाई पहिरोले पुरेको थियो । पुरिएकामध्ये एक जनाले भागेर ज्यान बचाएका छन् । तीन जना अझै हराइरहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरुमा ६० वर्षीय प्रेमचन्द्र पाण्डे, ६० वर्षीय जिमान्सिंह थापा र ५० वर्षीय टीकाबहादुर थापा रहेका छन् । त्यस्तै त्यही खहरे खोलाले धार परिवर्तन गर्दा चार घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
तनहुँमा पहिरोमा परि १० जनाको मृत्यु भएको छ । दुई जना अझै हराइरहेका छन् । पहिरोले पुरिएर व्यास नगरपालिका ९ का राजेश थापा र व्यास ११ का पद्मबहादुर भुजेल बेपत्ता भएका छन् ।
यसैबीच सङ्खुवासभाको सिलिचोङमा शनिबार राति गएको पहिरोमा परि ११ जना हराइरहेका छन् । पहिरोबाट विस्थापित ७३ घर परिवारलाई राहत सामग्रीसमेत नपुग्दा उनीहरुको बिचल्ली भएको छ ।
यस्तै सिन्धुपाल्चोकमा बाढीपहिरोमा परि हराइरहेका २० जना र म्याग्दीमा पहिरोमा हराइरहेका चार जना पनि अझै भेटिएका छैनन् ।





प्रतिक्रिया