काठमाडौं । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् ।
मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।
एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बस बाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ । अहिले त्यस विषयमा सरकारसँग छलफल भइरहेको महासङ्घका महासचिव सरोज सिटौलाले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायात सञ्चालनका लागि व्यवसायी महासङ्घ र मजदूर सङ्गठनसँगको छलफल अघि बढाइरहेको छ ।
सोमबार विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायी महासङ्घसँगै मजदूर सङ्गठनसँग छलफल गरेका थिए ।
आज पनि विभागमा व्यवसायी, मजदूर सङ्गठनसँगै स्वास्थ्य तथा जनस्ख्या मन्त्रालय र स्थानीय सरकारका प्रतिनिधि संलग्न भएर छलफल हुँदैछ ।
अहिले महासङ्घले चालक, सहचालकसँगै यात्रुको स्वास्थ्य सुरक्षाका विषयमासमेत आवाज उठाएको महासङ्घका महासचिव सिटौलाले बताए ।
काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले त्यसबाट सुरक्षित रहेर कसरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनी छलफल भइरहेको उनले बताए ।





प्रतिक्रिया