काठमाडौं । नेपालमा ५ जिल्ला कोरोनाविहिन भएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार साँझ सार्वजनिक गरिएको तथ्यांकका अनुसार भोजपुर, संखुवासभा, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमितको संख्या शून्य पुगेको हो । त्यस्तै, ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार ५१ भन्दा बढी २०० भन्दा कम संक्रमित रहेको जिल्ला १५ वटा रहेका छन् भने बाँकी जिल्लाहरुमा ५० भन्दा कम संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा परीक्षण गरिएकामा भेटिएको संक्रमण दर ५.७ प्रतिशत रहेको छ । पोजेटिभ भएकामध्ये मृत्यू दर ०.२ प्रतिशत रहेको छ भने प्रति दशलाखमा जम्मा मृत्यू १.४ रहेको छ ।
त्यस्तै, हालसम्म कोरोनाको उपचारपछि निको भएर घर फर्किएकामध्ये प्रदेश नं १ मा ७४४, प्रदेश नं २ मा दुई हजार ५८८, बागमती प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ९४६, प्रदेश नं ५ मा तीन हजार ४९२, कर्णाली प्रदेशमा एक हजार ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६५९ रहेका छन् । मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका क्वारेन्टिनमा हाल १२ हजार ७५६ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८७१ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या २८५ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५३४ रहेको छ । कूल कोरोना सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३९ लाख ६४ हजार ७९९ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ९३ हजार ४९ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ । नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये पुरुष र महिलाको अनुपात क्रमशः ८७ र १३ प्रतिशत रहेको छ ।
हेर्नुहोस् प्रदेशअनुसार संक्रमितको अवस्था-






प्रतिक्रिया