देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१५ अन्तर्राष्ट्रिय उडान : फर्किए एक हजार २४९ नेपाली

देशान्तर

काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत् विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन्।

कोभिड-१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन्। आज नेपाल एअरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौं ल्याएको छ। हिमालय एअरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ।

त्यस्तै जजीरा एअरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौं ल्याएको छ भने एअर अरेबियाले सारजहाबाट १६७ यात्रु नेपाल ल्याएको छ। कतार एअरवेजले दोहाबाट दुई नेपाली काठमाडौं ल्याएको छ। थप नेपाली ल्याउन नेपाल एअरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ। हिमालय एअरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ।

शनिबार पनि विभिन्न एअरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ। आज आन्तरिकतर्फ पनि विभिन्न एअरलाइन्सका ९ चार्टर्ड उडान भएका छन्। यती एयरलाइन्स, तारा एअर, समिट एअर, सीता एअर, सिम्रिक एअर, मनाङ एअर, श्री एअर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका हुन्।