देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने : मन्त्री नेम्वाङ

देशान्तर

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उनले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गरे ।

एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र नसके असोजसम्ममा बोलपत्र आह्वान गरिने उनको भनाइ थियो । त्यस्तै एक वर्षभन्दा लामो समयको आयोजनालाई दशैँतिहार, छठलगायत चाडपर्वभन्दा पहिले नै ठेक्का प्रक्रिया शुरु गरिने उहाँको प्रतिबद्धता थियो । उनले भने, “मन्त्रालयले गर्ने विकासनिर्माणमा असार कुर्ने होइन, समयमा नै काम गर्छौँ ।”

मन्त्री नेम्वाङले अर्को प्रसङ्गमा भौतिक मन्त्रालयमा दरबन्दीभन्दा धेरै कम जनशक्ति कार्यरत रहेको बताए । मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी पहिलो श्रेणीका१३, दोस्रो श्रेणीका ४०, इञ्जिनीयर ११६ र सबइञ्जिनीयर १५० दरबन्दी रिक्त छन् । मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएकामा फाइल त्यहीँ अड्किएको उनले बताए ।

केही वर्ष पहिलेसम्म झोलुङ्गे पुल भए पुग्ने स्थानमा अहिले दुई लेनको सडक पुल आवश्यक भएको मन्त्रालयले जनाएको छ । देशभरमा अहिले झण्डै एक हजार पाँच सय पुल निर्माणाधीन भए पनि तीमध्ये एक वर्षमा दुईदेखि तीन सयसम्म मात्रै सम्पन्न गर्न सक्ने क्षमता व्यवसायीको भएको बताइएको छ । मन्त्री नेम्वाङले भने, “त्यसैले पनि कुन ठाउँमा कति पुल बढी आवश्यक छ भनी हामीले छुट्टाउनैपर्छ ।”

सो अवसरमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुलका नयाँ योजना थप्नेभन्दा भएकै योजना पूरा गर्नुपर्नेमा जोड दिए । अहिलेसम्म सङ्घीय सरकारले नै स्थानीय र प्रदेश सडकमा पुल निर्माण गरिरहेको बताउँदै उनले भने, “केही समयका लागि त्यही उपयुक्त होला तर विस्तारै हामीले जिम्मेवारी हस्तान्तरण गर्दै जानुपर्छ ।”