भक्तपुर । सत्तारूढ दल नेकपामा देखिएको विग्रहको आँधी जिल्ला तहसम्मै फैलिएको छ । कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने क्रममा पूर्वएमाले समूहले दुईवटा छु्ट्टाछुट्टै कार्यक्रम आयोजना गरेर यसको संकेत दिएका छन् । भक्तपुरमा शनिबार हाल नेकपामा रहेका पूर्वएमालेका दुईवटा समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्यो ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार रक्तदान कार्यक्रम आयोजना गर्यो । जिल्ला समिति भक्तपुरद्वारा ४२ औं पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रम नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम प्रतिष्ठानका जिल्ला अध्यक्ष ध्रुवराज विष्टको अध्यक्षता तथा सचिव राजन केसीको सञ्चालन तथा तुल्सीलाल स्मृति स्पोट्र्सका सल्लाहकार दीपक थापाको विशेष सहयोगमा सम्पन्न भयो । कार्यक्रममा ७१ जना दाताले रक्तदान गरेका थिए । कार्यक्रमको व्यवस्थापन पुष्पलाल स्मृति प्रतिष्ठान नगर समिति भक्तपुरले गरेको थियो ।
यसैबीच, केपी ओली निकट कार्यकर्ताहरूले शनिबारकै दिन भक्तपुरमा पुष्पलाल स्मृति दिवसको अवसरमा छुट्टै कार्यक्रमको आयोजना गरे । युवा संघ भक्तपुर र अनेरास्ववियु भक्तपुरको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सांसद् महेश बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए । यसबाट सत्तारूढ दल नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र ओली इतर खेमा अनौपचारिक रूपमा विभाजित भइसकेको संकेत मिलेको छ ।





प्रतिक्रिया