देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

देशान्तर

लमजुङ । अविरल वर्षाले पहिरो जाँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आइतबारबाट निरन्तर परेको वर्षाले आज दिउँसो सो सडकखण्डअन्तर्गत राइनास नगरपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

नगर प्रमुख सिंहबहादुर थापाका अनुसार वडा नं ८ पाउँदी मिलन चोक र वडा नं. ६ गोफ्लेटारमा, गरमबेँसी, लुखोला, भाडगाउँलगायत एक दर्जन ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरपालिकाले पहिरो हटाउन थालेको र अविरल वर्षा भइरहेकाले सो स्थानका पहिरो पन्छाउनका लागि मङ्गलबार दिनभरी लाग्ने उनको भनाइ छ ।

सो सडकखण्डको मिलनचोकमा करिब १०-१५ मिटर माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको स्थानीय गोमा जिनी नेपालीले बताए । उनले भने, “पहिराले सडक अवरुद्ध भएपछि कालोपत्रे सडक हिलाम्मे भएको र सवारीसाधन रोकिएका छन्, पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्नसमेत कठिन तथा जोखिम भएको छ ।”