नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपि)को ३८ औं स्मृति दिवस आज मनाइँदैछ ।
बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षारोपण कार्यक्रम राखेको छ ।
विभिन्न जिल्लामा पनि काँग्रेस तथा यसका भातृ संगठनले विभिन्न कार्यक्रम गरी बीपिलाई सम्झदैछन् । कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनी लामो समय निर्वासन र जेलमा बसेका थिए ।
पछि विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर बीपि स्वदेश फर्किएका थिए । उनले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका छन् ।





प्रतिक्रिया