देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विपी माटोको स्पन्दन बुझ्ने राजनेता : प्रथम राष्ट्रपति डा यादव

देशान्तर

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विपी कोइराला विश्व परिवेशका साथै माटोको स्पन्दन बुझ्ने राजनेताका रुपमा स्थापित हुनुभएको बताएका छन् ।

विपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हरेकपल डट कमले ‘विपी विमर्शका बहुआयाम’ विषयमा करीब दुई महिनासम्म गर्ने संवाद, बहस र विमर्श कार्यक्रमको आज शुभारम्भ गर्दै उनले नेपालका सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार विपी भएको बताए ।

पूर्वराष्ट्रपति डा यादवले विपीको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा मात्र होइन, साहित्य सिर्जनाको क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको बताए । “ठूलो मान्छे होइन, असल मान्छे वन भन्ने विपीको चिन्तन गहिरो अध्ययनको उपलब्धि हो, आज पनि मुलुकका निम्ति विपीका विचार उत्तिकै सामयिक रहेको र भविष्यका लागि पनि सान्दर्भिक रहने छ, विपी बुझ्नु भनेको लोकतन्त्र बुझ्नु हो, स्वतन्त्रता बुझ्नु हो, समानता बुझ्नु हो, विश्वबन्धुत्व बुझ्नु हो, नेपाल बुझ्नु हो, नेपाली स्पन्दन बुझ्नु हो”, उनले भने ।

पूर्वराष्ट्रपति डा यादवले विपीका कतिपय आयामको अध्ययन हुनै बाँकी रहेको उल्लेख गर्दै उनको पुनर्गठन र पुनर्मूल्याङ्कनको पनि उत्तिकै आवश्यकता रहेको औँल्याए । हरेकपल डट कमका प्रधान सम्पादक पुरुषोत्तम दाहालले विपी उहाँकै बेलामात्र होइन, यो बेला पनि उत्तिकै सान्दर्भिक रहेको र भोलिका दिनमा पनि उनका विचार ताजगी लाग्ने बताए । विपीका बहुआयामलाई सबैसमक्ष पु¥याउन हरेकपलले दुई महिना लामो अभियान शुरु गरेको जानकारी पनि उनले गराए।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले विपीको राजनैतिक व्यक्तित्व, स्रष्टा व्यक्तित्व र समाजको अस्तित्वको चिन्तन गर्ने पक्षका कारण उहाँ अद्वितीय बन्नुभएको बताए। साहित्यकार मञ्जु काँचुली तिवारीले विपीको राजनीतिक विचार, चिन्तन धारणा उनको साहित्यमा लुकेर बसेको उल्लेख गर्दै नसानसामा लुकेर बसेको विचारलाई पाठक र समालोचकले देखाउन वा भेउ पाउन नसकेको बताए ।

समालोचक ज्ञानु पाण्डेले विपीका उपन्यास सबै चरित्रप्रधान भएको र चरित्रलाई उहाँले विचारको कुञ्ज वा प्रतीक बनाएर अगाडि सार्नु भएकाले हरेक पात्र एक से एक रहेको बताए । सहकारीका अध्यक्ष विपिन शर्माले विपीका विचारलाई जीवन र व्यवहारमा लागू गर्नु जरुरी रहेको बताए ।