काठमाडौं । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक विदेशी नागरिक समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार धनुषाका एक ६० वर्षीय पुरुष र एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार जनकपुर उपमहानगरपालिकाका ती पुरुषमा खोकी र श्वासप्रश्वासमा समस्या रहेको थियो। उनलाई उपचारका लागि साउन २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।
उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनको उपचारकै क्रममा साउन ६ गते निधन भएको थियो। निधनपछि गरीएको नमूना परीक्षणमा उनमा कारोना पुष्टि भएको भएको प्रवक्ता गौतमले बताए।
त्यस्तै प्रवक्ता गौतमका अनुसार मृत्यु हुने चिनियाँ महिला स्वास्थ्यमा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनलाई साउन २ गते ग्रान्डी अस्पतालमा ल्याइएको र उपचारकै क्रममा कोरोना संक्रमणमा पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपछि ती महिलालाई त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा उपचारकै त्रममा बुधबार उनको निधन भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ।





प्रतिक्रिया