काठमाडौं सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ बिहीबारदेखि पुनः सञ्चालन गरेका छन्।
सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति जारी गरी शिक्षकलाई बेतलबी बिदा दिई यही साउन १ गतेदेखि अनलाइन कक्षा स्थगन गराएका थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन ( एनप्याब्सन) , नेपाल शिक्षक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासंघसँग परामर्श गरेको थियो।
शिक्षक र अभिभावकले पनि निजी विद्यालयलयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका थिए। सरकारले जारी गरेको वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका लागि गत असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक प्रणालीबाट पढाइ भइरहेको छ।
कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ। त्रिभुवन विश्वविद्यालयले पनि आफ्ना क्याम्पस खोल्न थालेको छ।





प्रतिक्रिया