चितवन । इन्टरनेटको पहुँचसँगै मानिसको ध्यान ‘डिजिटल’ विषयवस्तुतर्फ जाने र प्रिन्ट संस्करण ओझेलमा पर्ने अनुमानविपरीत पुस्तकहरु किनेर पढ्ने संस्कृतिको विकास हुँदै गएको छ । नेपाली लेखकले उत्कृष्ट पुस्तक बजारमा ल्याएसँगै पठन संस्कृतिको विकास भएको हो ।
नारायणगढको लायन्सचोकको सम्पूर्ण किताब पसलका सञ्चालक लेखराम सापकोटा दरबार हत्याकाण्डपछि कृष्ण अविरलले लेख्नुभएको रक्तकुण्डसँगै साहित्यिक पुस्तक किनेर पढ्ने प्रचलन बढ्दै गएको बताउछन् ।
साहित्यिक पुस्तकमात्रै बिक्री गर्ने सापकोटा कर्ण शाक्यको सोच, नारायण वाग्लेको पल्पसा क्याफे, हरिवंश आचार्यको चिना हराएको मान्छे, निलम कार्कीको योगमाया, अमर न्यौपानेको सेतो धर्ती, झमक घिमिरेको जीवन काँडा कि फूल, सुधीर शर्माको प्रयोगशाला, विजय कुमारको खुशीजस्ता पुस्तक पाठकले अत्यधिक रुचाएको सापकोटा बताउँछन् ।
स्थानीय लेखक सुमन घिमिरेको मौनता मात्रै एक हजार प्रतिभन्दा बढी यहाँ बिक्री भएको भन्दै उनले भने, “पछिल्ला दिनमा साहित्यक पुस्तक किनेर पढ्नेहरु बढ्दै गएका छन् ।” भुँडीपुराणले प्रकाशन गरेको पत्रकार वसन्त पराजुलीको कुमाता चितवनमा मात्रै ८०० भन्दा बढी बिक्री भइसकेको सापकोटा बताउँछन् ।
विमोचन कार्यक्रममा पुस्तक बाँड्ने प्रचलनको विपरीत अहिले कार्यक्रममै किनेर लैजाने गरेको सापकोटाको अनुभव छ । भर्खरै प्रकाशित पत्रकार बिनोदबाबु रिजालको एकान्तवास र पराजुलीको कुमाता विमोचनकै दिनमा एक-एक सय हाराहारी बिक्री भएको उहाँ बताउँछन् ।
पत्रकार पराजुली र रिजाल आफ्ना पुस्तक जो भेटियो उसैले किन्न खोज्ने गरेको अनुभव सुनाउछन्। रिजालले भने, “नारायणगढको एक मःम पसलबाट मात्रै एक साता नपुग्दै २० पुस्तक बिक्री भइसक्यो ।” पराजुलीको पहिलो संस्करण पाँच हजार प्रति सकिएपछि दोस्रो संस्करण बजारमा आएको छ ।
पछिल्ला दिनहरुमा होटल, रेष्टुरेण्ट, क्याफेहरुमा पुग्ने ग्राहकले पुस्तक पढ्ने चाहना गर्न थालेपछि यस्ता ठाउँहरुमा समेत अहिले पुस्तक राख्न थालिएको छ । भरतपुरको लङ्कुमा रहेको द ग्रिन पार्क रेष्टुरेण्ट एण्ड बारमा पाठकका लागि पुस्तक पनि राखिएको छ । बारका सञ्चालक जोन कँडेल बारमा बसेर पढ्ने र पढ्न पुस्तक खरिदहरु बढेको बताउछन् ।
भरतपुर विमानस्थल अगाडि रहेको डबली द स्पेश रहेको छ । साहित्यकारहरुको जमघट हुने डबलीमा आफूले पढ्न चाहेका पुस्तक पढ्न पाइन्छ । सञ्चालक शारदा क्षेत्री भन्छन्, “दैनिक तीनरचार जना पुस्तक पढ्नकै लागि आउने गर्छन् ।”
भरतपुरकै बाइपासरोडमा रहेको ग्लोबल कफी हाउसमा पनि पुस्तक पढ्न पाठक पुग्ने गर्दछन् । लामो समय अष्ट्रेलिया बिताएर नेपालमै व्यवसाय गर्न आउनुभएका ग्लोबलका सञ्चालक आश्मा तिमिल्सिना पुस्तक पढ्नकै लागि कफी पिउन आउने गरेको बताउछन् । उनले भने, “धेरैले पुस्तक घरमै लगेर पढ्न खोज्छन् । हामीले त्यो व्यवस्था नगरेकाले उनीहरु किन्न बजार जाने गरेका छन् ।”
जिल्लाका अन्य होटल तथा रेष्टुराँमा पनि पुस्तक राख्न थालिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष तथा लेखक सुमन घिमिरे पछिल्लो समयमा पुस्तक किनेर पढ्ने बढेको बताउछन् । उनले भने, “अहिले विमोचनमा पनि पुस्तक बाँड्नु पर्दैन, अतिथिले समेत किनेर लैजानुहुन्छ । पठन संस्कृतिको विकास भएको छ ।”
साहित्यमा रुचि राख्नुहुने उदय अधिकारी शिक्षाको स्तर बढेसँगै पुस्तक पढ्नेको सङ्ख्या बढेको बताउछन् । स्कूल, क्याम्पसमा पुस्तकालय स्थापनासँगै त्यसको प्रभावले बजारमा पुस्तकको माग बढेको उनको अनुभव छ । अधिकारीले भने, “पछिल्ला दिनमा पुस्तक किनेर पढ्ने सङ्ख्या बढ्दै गएको छ ।”
साहित्यक पुस्तकका नियमित पाठक साकार लामा राजधानी काठमाडौँमा अनलाइन संस्करण पढ्ने बढेको भए पनि मोफसलमा पुस्तक किनेर पढ्नेको सङ्ख्या बढेको बताउछन्। नेपाली तथा विदेशी लेखकका पुस्तक अध्ययन र समीक्षा गर्ने लामा उत्कृष्ट पुस्तक भएमा बजार पाउने बताउछन् ।
साहित्यकार गोविन्दराज विनोदी साहित्यतर्फ मानिसको आकर्षण बढ्दै गएको बताउछन् । उनले भने, “पठन संस्कृति बढेको छ, यो सकारात्मक विषय हो ।” उनको भनाइमा पनि शिक्षण र सामाजिक सङ्घसंस्थामा पुस्तकालय स्थापनासँगै मानिसको पढ्ने बानीको विकास भएको छ । स्वःस्फूर्त पुस्तक किनेर पढ्ने चलन पछिल्ला वर्षमा शुरु भएको हो । विगतमा छापिएका पुस्तक केवल पुस्तकालयमा मात्रै थन्किएर बसेका छन् । विनोदीका मात्रै १२ पुस्तक बजारमा आएका छन् ।
शिक्षाको स्तरमा आएको वृद्धि, मानिसको क्रय क्षमता बढ्दै जानु, प्रकाशित पुस्तकको प्रचारप्रसार राम्रो हुनु, उत्कृष्ट पुस्तक प्रकाशित हुनुजस्ता कारणले पुस्तकको बिक्रीसँगै पठन संस्कृतिको विकास भएको हो ।





प्रतिक्रिया