देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

देशान्तर

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । मृत्यु हुनेमा मोरङको सुनवसी-८ का ४५ वर्षीय पुरुष रहेका छन् । निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो ।

यस्तै पर्साको वीरगञ्ज-७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न निजी अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसीयूमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । यस्तै बिहीबार विभिन्न जिल्लामा गरी थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको जम्मा सङ्ख्या १९ हजार ५४७ पुगेको छ।