
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेलको नेतृत्वको टोलीले नेपालमा कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी गराएको छ ।
टोलीमा उच्चस्तरीय समितिका सदस्यहरु परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेत उपस्थित रहेका थिए । उक्त अवसरमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको कुरा उल्लेख गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
साथै राष्ट्रपतिले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गरेकी छन् । हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिएको उनको सचिवालयले जनाएको छ ।





प्रतिक्रिया