देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु , मृतक सङ्ख्या ८९ पुग्यो

देशान्तर

काठमाण्डौ – देशका विभिन्न अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा तीन तथा मोरङ, रुपन्देही र सप्तरीमा एक एक जना गरी ६ जनाको मृत्यु भएको हो ।

गएराति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए । उनका अनुसार पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षिय पुरुषको राति मृत्यु भएको छ । साउन ५ गते भर्ना भएका उनमा निमोनिया, श्वासप्रश्वास लगायतका समस्या थियो । यस्तै किस्ट अस्पतालमा मृत्यु भएका व्यक्तिको बारेमा भने विवरण संकलनको काम भैरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले बताए ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति मृत्य भएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए ।

४२ वर्षका पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ । यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षका पुरुषको मृत्यु भएकाे अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ