चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीन दिनमा २३ जना कोरोना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एक हप्ता ‘लकडाउन’ गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको संक्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि शुक्रबार राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
महानगरभित्र कोरोना तीव्रगतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको उनले जानकारी दिए । अतिआवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिनेछ’–उनले भने–‘जो जहाँ छ, त्यहीँ रहनेगरी लकडाउन गरिँदैछ ।’
महामारीबाट बच्नका लागि लकडाउन बाध्यता भएको जनाउँदै उनले जति कष्ट भएपनि हामी सबैले स्वीकार गर्नुपरेको बताए । राजमार्गमा अतिआवश्यक सवारीमात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुनेगरी लकडाउन आह्वान गरिँदैछ ।
महानगरका वडामार्फत् टोल सुधार समितिलाई सबैलाई सतर्क भइ घरमा नै रहन सन्देश प्रवाह गरिँदैछ । महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने महानगरप्रमुख दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।
महानगरभित्रका अस्पताल, ‘आइसोलेसन’ र ‘क्वारेन्टिन’लाई प्रभावकारी बनाइनेछ । उपचारमा विशेष ध्यान दिने उनले बताए। समितिको बैठकमा महानगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, उद्योग संघ, यातायात व्यवसायीलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो । महानगर क्षेत्रमा हालसम्म ९३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । तीमध्ये ७० पुरुष, २३ महिला रहेका छन् । तीमध्ये एकजनाको मृत्यु भएको छ ।





प्रतिक्रिया