देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तनहुँमा थप २३ जना समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण

देशान्तर

तनहुँ – तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिका–२ का ३० र भानु नगरपालिका–४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये एक जना जनप्रतिनिधि र अर्का निर्माण व्यवसायी रहेको बुझिएको छ ।

भानु नगरपालिका–१ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङबाट १२२ जनाको स्वाब परीक्षण गरेको थियो । त्यसमध्ये शुक्रबार भानु नगरपालिका–१ का २० जनामा कोरोना पुष्टि भएको थियो । भानु नगरपालिकामा समुदायका २३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

शुक्रबार भानु नगरपालिका–१ का २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८, ३५ वर्षीय पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार कोरोना सङ्क्रमित हुनेमा प्रहरी, कर्मचारी, मासु व्यवसायी, वर्कसपका कामदार, स्थानीयवासी लगायत छन् । शुक्रबार कोरोना पुष्टि भएकालाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा राखिएको छ ।

नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरपालिका पनि महामारीको चपेटामा पर्न सक्ने भएकाले थप सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेका छन् ।