काठमाडौं – कोरोना महामारी र विपदविरुद्ध लडिरहेको सरकारलाई दल नेपाली कांग्रेसले विभिन्न तीन सुझाव दिएको छ । सरकारलाई सुझाव दिंदै प्रतिपक्षी दल कांग्रेसले नषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी निषेध रहनु पर्ने बताएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गर्दै जनताले अप्ठेरो सहेर र कांग्रेसले ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने मान्यतामा रहेर सरकारलाई साथ दिइरहेको जनाएको छ ।
विज्ञप्तिमा कोरोना विरुद्धको संघर्षमा संयम र एकताका लागि सरकार र समुदायलाई अपिल गरिएको छ । यसअघिको १२० दिन लामो लकडाउनले लकडाउन या निषेधाज्ञा आफैंमा समाधान नभएको पुष्टि भएको भन्दै विज्ञप्तिमा सरकारले अधिकतम क्षमता प्रस्तुत गर्न सक्नुपर्ने बताइएको छ । ‘नेपाली कांग्रेस आग्रह गर्दछ– विगतमा गरिएका कमजोरी र गल्तीहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।
‘चैत महिनादेखि सवा सय दिनसम्मको लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्षभन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो । निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य देशले खोजेको छ,’ प्रवक्ता शर्माले भनेका छन् । यस्तै, फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्दै कांग्रेसले उनीहरुलाई आवश्यक पर्ने भौतिक सामग्री र मनोवैज्ञानिक सहजताका लागि सहजीकरण गर्न पनि सरकारलाई अपील गरेको छ ।
निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्था आउने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘त्यसबारेमा समयमै दृष्टि र योजना निर्माण गरिराख्नु जिम्मेवार राज्यको कर्तव्य हुन्छ । नेपाली कांग्रेस ती सबै वर्ग र समुदायका तर्फबाट सरकारलाई यसबारे आवश्यक ध्यानाकर्षण गराउन चाहन्छ ।’





प्रतिक्रिया