काठमाडौं – नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मत रूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताएकी छिन् । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली कांग्रेसको पुनः जागरण अभियान स् वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का कांग्रेस नेतासँग गरेको भर्चुअल अन्तरक्रियामा उनले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा कांग्रेसमा सक्षम नेतृत्व ल्याउनु पर्ने बताएकी हुन् । ‘गुट उपगुटको अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस बलियो हुन सक्दैन’, उनले भनिन् ।
कोषाध्यक्ष यादवले पार्टीबाट निर्माण गरिएको विधान पालना नहुँदा कांग्रेस झन कमजोर हुँदै गएको उल्लेख गरिन् । क्रियाशील सदस्यता वितरणमा अनियमितता हुँदा पार्टी झन धरासयी बन्दै गएको उनको भनाइ थियो । कोषाध्यक्ष यादवले जागरुक भएर सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिइन् । केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र सङ्घर्ष, योगदान र जेलनेल भोगेका व्यक्ति पाखा लगाउँदै जाँदा कांग्रेस कमजोर हुँदै गएको बताए । ‘जेल गएका व्यक्ति, शहीद परिवार, सङ्घर्ष, योगदान गरेका व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बनाएर नल्याएसम्म कांग्रेस बलियो हुँदैन’, उनले भने । प्रदेश सरकारले थारू समुदायलाई मन्त्रिमण्डलमा समावेश गर्न नसक्नु दुःखद कुरा भएको उनको भनाइ थियो ।
केन्द्रीय सदस्य रामकृष्ण यादवले पार्टीभित्र दुःख गरेका व्यक्तिलाई बाइपास गर्दा तराईमा कांग्रेस कमजोर हुँदै गएको बताए । ‘हरेक राजनीतिक आन्दोलनको नेतृत्व र संविधान निर्माणको नेतृत्व गरेको कांग्रेस निर्वाचनमा किन हार्यो, यसको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको छ’, उनले भने ।केन्द्रीय सदस्य किरण यादवले कांग्रेस नेतृत्वले तराईलाई राम्रोसँग बुझ्न नसकेका कारण कांग्रेसले तराईमा निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरे । कांग्रेसभित्र क्रियाशील नभएका व्यक्तिलाई विभागमा राख्दा पार्टी झन कमजोर हुँदै गएको उनको भनाइ थियो ।
पूर्व सांसद तेजुलाल चौधरीले आन्तरिक लोकतन्त्रलाई बलियो नबनाएसम्म कांग्रेस बलियो हुन नसक्ने बताए । केन्द्रका अध्यक्ष डा. कमल रिजालले कांग्रेसलाई बलियो लोकतान्त्रिक पार्टी निर्माणका लागि केन्द्रले देशभर यस्ता किसिमका विचार, विमर्श र बहस चलाउँदै लैजाने बताए ।





प्रतिक्रिया