देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

९६ वर्षीया वृद्धालाई कोरोना लागेको थाहै दिइएन, तर उनी निको भइन्

देशान्तर

रूपन्देही – रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्।

‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने, ‘त्यसले अरू जटिलता थपिन सक्थ्यो।’ यद्यपि, ती हजुरआमा घरका सदस्यलाई भनिरहन्छिन्, ‘मास्क लगाऊ, नत्र कोर्‍यो (कोरोना) हुन्छ।’

उनी कोरोनालाई कोर्‍यो भन्छिन्। कोरोना लागेपछि के हुन्छ भन्ने पत्तो छैन। न अहिले देखिएको त्रासकै बारेमा उनलाई जानकारी छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा बुटबलबाट लक्ष्मण पोखरेलले लेखेका छन्।

सुरुमा एक जना नातिमा कोरोना देखिएपछि ती हजुरआमासँगै बुहारी पनि संक्रमणमा परिन्। तर, कुनै लक्षण देखिएन। ‘हजुरआमा कुनै लक्षण नै नदेखिई कोरोना संक्रमणमुक्त हुनुभयो’, नातिले भने। ती वृद्धाको स्याहारसुसार बुहारीले गरिन्। बुहारी पनि कोरोना पोजिटिभ नै थिइन्। छोराले पकाएर खुवाए। हजुरआमाको दैनिकी अरू बेलाजस्तै बित्यो। कुनै लक्षण नदेखिएपछि थप औषधिको आवश्यकता देखिएन। खाजा, खाना खुवाउने नियमित प्रक्रियाजस्तै बन्यो। तातो पानी पर्याप्त खुवाइएको नातिले सुनाए। वनस्पतिको रसबाहेक अरू खुवाउनु परेन।

उनले मन्दिर जाने, पूजा गर्ने, नुहाउने, खानेजस्ता नित्यकर्ममै समय बिताइन्। ८४ पूजा गर्दाको मन्दिर घरमै छ। दिउँसो त्यही मन्दिरछेउ गएर बसिन्, साँझ–बिहान घरभित्रै। एक नातिलाई भने ज्वरो आएको थियो। हजुरआमाले सहजै निको भएपछि परिवारका सदस्य दंग छन्। सुरुमा जेठो नातिलाई संक्रमण देखिँदा त्रास थियो। दुई दिनसम्म सय डिग्रीभन्दा बढी ज्वरो आयो। पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमै बसे।

पाँच जनाको परिवारमा तीन जना संक्रमित भए, अन्यलाई संक्रमण देखिएन। ‘त्यति धेरै आत्तिइहाल्नुपर्ने अवस्था रहेनछ। तर, सतर्क हुनुपर्छ’, नातिले भने। कोरोनापछि हजुरआमालाई मास्क लगाउन नातिले सिकाए। कोरोनाका विषयमा अरू जानकारी दिएनन्। हजुरआमा निको भएपछि उनीहरूको निष्कर्ष छ, ‘कोरोनाबाट निको हुन आत्मबल चाहिँदो रहेछ।’ त्रासले झन् बढी जोखिम हुने उनीहरूको परिवारको अनुभव छ।