देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री

देशान्तर

गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड –१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाका सिपाही भएको बताएका छन् । सदरमुकाम तम्घासमा आज कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यो लडाइँ हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने नभएकाले सबै नागरिक सतर्क, सचेत र जागरुक भए जित्न सकिने बताए।

स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कोभिडका कारण कमजोर भएको अर्थतन्त्रलाई लयमा फर्काउन सरकार लागिपरेको जानकारी दिँदै सरकारका प्रवक्ताले कोभिडका कारण विदेशबाट फर्किएका नागरिकलाई रोजगारी प्रदान गर्नेतर्फ सरकारको ध्यान गएको बताए। मन्त्री ज्ञवालीले सरकारले सात प्रतिशतका दरले आर्थिक वृद्धिदर एवं साढे एक प्रतिशतका दरले गरीबी घटाउँदै गएको र नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गर्दै गएको बताए।

दुई महिनाअघि परराष्ट्रमन्त्री ज्ञवालीका पहलमा हिमालय एयरलायन्सले गुल्मीमा निःशुल्क पिसिआर मेशिन उपलब्ध गराएको थियो । उक्त यन्त्रमा आन्तरिक समस्या आएका कारण गत महिना फिर्ता पठाइएपछि पुनःअर्को ल्याइएको हो । रेसुङ्गा नगरपालिकाको व्यवस्थापकीय सहयोगमा पिसिआर मेशिन यसै सातादेखि सञ्चालनमा आउने गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिए।