काठमाडौं । शनिबार पाचौँ संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रिय दिवसका रुपमा समेत मनाइँदै आएको संविधान दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । यस्तै कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिका कारण सावधानी अपनाउँदै देशैभर पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा वर्षेनी मनाइँदै आएको छ ।
यसैबीच संविधान दिवसका दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन्। सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। सो सम्बोधनमा उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिने र संविधान कार्यान्वयन अवस्थाबारे जानकारी दिने बताइएको छ।
यस्तै, संविधान दिवसकै अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ जना कैदीबन्दीको कैद मिनाहा गरिदिएकी छिन्। संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कैदीबन्दी रिहा हुँदै गर्दा आजै राष्ट्रपतिले ५९४ जनालाई विभिन्न सरकारी विभूषण प्रदान गर्नेछिन्।
मन्त्रिपरिषद्ले गरेको सिफारिस बमोजिम राष्ट्रपतिले विभूषण प्रदान गर्न लागेकी हुन्।तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७३ साल असोज ३ गते नेपालको संविधान जारी गरेका थिए। यो संविधान जनप्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो। लामो समयसम्म दलीय स्वार्थको रस्साकस्सीमा रहेका राजनीतिक पार्टीहरू २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि संविधान बनाउने मार्गमा अग्रसर भएका थिए। तर, त्यसअघिसम्म नेपालको सुक्ष्म व्यवस्थापन समेतमा हस्तक्षेप गर्दै आएको भारतले नेपालको संविधान आफ्नो इसारामा नबनेपछि ६ महिनासम्म नाकाबन्दी लगाएको थियो।





प्रतिक्रिया