देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ : सभापति देउवा

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले सविधान दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै काँग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाइँदै आइएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ । उहाँले उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरे ।

संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने सभापति देउवाले विश्वास लिएका छन् । संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको व्यवहार जरुरी रहेको सभापति देउवाले विज्ञप्तिमा उल्लेख गरे ।
“काँग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ”, विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछिका दिनहरूमा संविधानको सफलताका लागि बाँकी कार्यभारहरु पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि भइरहेको आरोप लगाउँदै उनले यसलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरे । आजको दिन लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सभापति देउवाले सरकारलाई अपील गरे । अनेक चुनौतीका बावजुद यो संविधानको सफलतासँग देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजको घडीमा जरुरी रहेको उल्लेख गर्दै उजले यही आग्रह साथ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा संविधान दिवसको शुभकामना व्यक्त गरे ।