देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज

देशान्तर

काठमाडौं । कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए । मन्त्री भट्टराईले संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताए ।

उनले यो अभियानमा साथ दिन नीति क्षेत्रहरुलाई समेत आग्रह गरे । विश्वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताए ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा अघि सारेको उनले बताए । हप्तामा दुई दिन बिदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल भइरहेको उनले बताए । पर्यटन सम्बद्ध सेवा प्रदायक संस्था तथा कम्पनीहरुले समेत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष योजनाहरु सार्वजनिक गरिरहेका छन् ।