देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले संसदको विशेष अधिवेशन आह्वान गर्ने

देशान्तर


काठमाडौ । नेपाली कांग्रेसले वर्तमान अवस्थामा सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक मात्रामा भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठानका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा ( आज ) बुधवार बसेको पदाधिकारी तथा काठमाडौँमा उपलब्ध केन्द्रीय समितिका सदस्यहरुको बैठकले बढ्दो भ्रष्टाचार तथा बेथितिको अहिलेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीका साथै कोभिडले निम्त्याएका विविध विषयमा परेका जनताका मर्कामा पनि सरकारले कुनै काम गर्न नसकेको भन्दै सरकारलाई दबाब दिनका लागि संसदको विशेष अधिवेशन बोलाउनुपर्ने निष्कर्षमा पुगेको हो ।

यसका लागि कांग्रेसको संसदीय दलको बैठकको आह्वान गरी सोहीमार्फत अघि बढ्ने निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । उनले आजको सो बैठकमा नेपाली कांग्रेसमा आएको पार्टीभित्रको विरोध पत्रका बारेमा पनि कुराकानी भएको र सो विषयमा र सरकार तथा अरु पनि समसामयिक विषयमा आगामी केन्द्रीय समिति बैठकमा छलफल गर्नेगरी छलफलका एजेण्डाहरु पनि तय भएको जानकारी दिए ।

साथै, कांग्रेसले वर्तमान सरकारका ज्यादतिका विरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा. महतले बताए । काँग्रेसले सामाजिक दूरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने भएको हो । यस बारेमा पनि आजको सो बैठकमा छलफल भएको थियो ।