काठमाडौं । नेपालमा पछिल्लो पटक थप ८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके र मोरङमा दुई–दुई, बुटवल, धरान वीरगंजमा र सुर्खेतमा एक–एक जना गरि ८ जनाको मृत्यु भएको हो ।
बुटवल उपमहानगरपालिका वडा नंं। ८ का ८० वर्षीय कोरोना संक्रमित बृद्धको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।
यस्तै धरानमा अर्का एक जना संक्रमितको ज्यान गएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए । यसैगरी, रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ ।
रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।
उता बाँकेमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । दुवै जना शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
यस्तै मोरङ कारागारका एक बन्दीसहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी नगरपालिका ४ घर भइ १० महिनादेखि लागूऔषध मुद्दामा मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कोरोना संक्रमित २७ वर्षीय पुरुषको मृत्यु भएको कोसी अस्पतालले जनाइको छ ।
यसैगरी उर्लाबारी नगरपालिका–२ की ८४ वर्षीया कोरोना संक्रमित वृद्धाको आज बिहान होम आइसोलेसनमा मृत्यु भएको छ । कोरोनासँग मिल्दो लक्षण देखिएपछि परिवारजनले वृद्धालाई उपचारका लागि विराट मेडिकल अस्पतालमा भर्ना गराएका थिए । अस्पतालले भर्ना गरी स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।
उता सुर्खेतको वीरेन्द्रनगरमा आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत भेटिएकी थिइन् ।





प्रतिक्रिया