काठमाडौं – नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्ष पूरा भएको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष डेमेट्रिस सिलौरिसबीच शुभकामना आदान प्रदान भएको छ । उनीहरुबीच आज भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं वर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर कुटनीतिक सम्बन्ध रहेको बताए। उनले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख गर्नुभएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
सभामुख सापकोटाले साइप्रसमा १० हजारभन्दा बढी नेपाली कामदार पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यवस्थापनमा सहज हुने धारणा राखे । उनले साइप्रसले नेपाली विद्यार्थीलाई अध्ययनको अवसर सिर्जना गरेको र कोभिड–१९ का महामारीकाबीचमा पनि साइप्रसमा रहेका नेपालीलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था हुने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले नेपालको सङ्घीय संसद् र साइप्रसको संसद्बीच संसदीय मैत्री समूह गठनका लागि प्रस्ताव राखे।





प्रतिक्रिया