देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

५८ प्रतिशत सक्रिय संक्रमित राजधानीका

देशान्तर

मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५८.२० प्रतिशत अर्थात् २ हजार ५ सय ४० जना छन् । ‘हामी अत्यन्त गम्भीर अवस्थामा पुग्यौं’, स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले भने ।

महिला संक्रमित हुने क्रम व्यापक बढेको छ । बिहीबार पुष्टि भएका कुल संक्रमितमध्ये ३५.७६ प्रतिशत महिला छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये २९ प्रतिशत महिला छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पीसीआर परीक्षण बढाइएपछि संक्रमित धेरै फेला परेका हुन् ।

‘काठमाडौंमा परीक्षण बढेको छ । बाहिर त्यति परीक्षण भएको छैन,’ डा.पाण्डेले भने, ‘उपत्यका बाहिर कोभिड परीक्षण कम भएर संक्रमण बढी नदेखिएको हुन सक्छ तर बाहिर मृत्युदर बढी देखिएको छैन ।’

हाल काठमाडौंमा ज्वरो नदेखिएको सदस्य भएको परिवार धेरै कम रहेको डा. पाण्डेले बताए । ‘काठमाडौंमा कोभिड घर–घर गइसक्यो,’ उनले भने । हाल देशभरिमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेकामा ५८.३९ प्रतिशत अर्थात् १५ हजार ५ सय ८३ जना राजधानीमा छन् । काठमाडौं जिल्लामा ४६.६२ प्रतिशत अर्थात् १२ हजार ४ सय ४१ जना सक्रिय संक्रमित छन् । कोभिडका कारण हालसम्म मृत्यु भएका ५ सय ९० जनामा १ सय ८३ जना अर्थात् ३१.०१ प्रतिशत उपत्यकाका छन् । काठमाडौं जिल्लामा मात्र २१.०१ प्रतिशत अर्थात् १ सय २४ जनाको मृत्यु भएको छ ।
ईडीसीडीकै पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले राजधानीका घर–घरमा संक्रमण गइसकेकाले अब रोकथाम गर्न मुस्किल पर्ने बताए । ‘यो संक्रमण बन्द ठाउँमा बढी सर्न सक्ने जानकारी सहज रूपमा नदिँदा यो अवस्था निम्तिएको हो,’ उनले भने । कान्तिपुरमा खबर छ।