देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपालसहित नेकपाका चार नेतालाई ओलीको गुहार : पार्टी फुट्न लाग्यो बचाऔं

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य चार नेताबीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगेका नेकपाका वरिष्ट नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तलाई ओलीले पार्टी विभाजनतिर गएकाले रोक्न पहल गर्न आग्रह गरेका छन् ।

आज (आइतबार) को बालुवाटारमै बोलाएर ओलीले नेता माधवकुमार नेपालसँग नेकपा फुटको डिलमा पुगेकाले बचाउन आग्रह गरे । उनले विगतदेखि पार्टीमा देखिएको समस्याका बारेमा अवगत गराउँदै नेता नेपाल र उनको समूहमा रहेका नेताहरुसँग यस्तो आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले नेता नेपालसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटाउन लागिपरेको संकेत दिएका थिए ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच शनिबार बिहान बालुवाटारमा पार्टी विभाजनको गतिविधि गरेको भन्दै घोचपेच र आरोप प्रत्यारोप चलेको थियो । सचिवालयका पाँच जना नेताले दुई दिनभित्रमा सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको भोलिपल्टै ओलीले नेता नेपाललगायतका पूर्व एमालेका चार नेतालाई बालुवाटारमा बोलाएर गुहार मागेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिंदै नेता रघुजी पन्तले भने, ‘प्रधानमन्त्रीले पार्टी फुटको डिलमा पुग्यो सबै मिलेर बचाऔं भन्नु भयो ।’ पार्टी अध्यक्ष र प्रधानमन्त्रीको निर्णायक भूमिका भएकाले सहमतिको पहल थाल्न ओलीलाई आग्रह गरेको पन्तले बताए ।

‘हामीले पनि सबै मिलेर पार्टी बचाउनु पर्छ । प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतले सबैभन्दा बढी र निर्णायक भूमिका तपाईको हुन्छ । सिङ्गो पार्टीलाई एकताबद्ध हुने गरी काम गर्नुस् । समस्याको समाधान पार्टीको बैठकबाट हुन्छ । तपाई लचिलो हुनुपर्छ ।’

छलफलमा प्रधानमन्त्री ओलीले फुटको संघारमा पार्टी पुगेकाले बचाउन पटक–पटक आग्रह गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनले आफूहरुले प्राविधिकभन्दा पनि ठोस प्रस्ताव ल्याउन आग्रह गरेको बताएका थिए ।