देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शीर्ष नेताबीच मतभेद र टकराव मात्र हो, नेकपा फुट्दैन : मन्त्री भट्टराई

देशान्तर

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आए जस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेद मात्र भएको बताए ।

गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहेका मन्त्री भट्टराईले आज मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्दै शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि उनीहरु पार्टी एकताकै पक्षमा रहेको बताए ।

पार्टी अध्यक्षद्वयसहित नेपालको प्रधानमन्त्री बनिसकेका चार जना नेता नेकपामा रहकाले उनीहरु नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तनमा रहेको भट्टराईले बताए ।

उनले पार्टी कार्यकर्ता तथा समर्थकले राखेका जिज्ञासाको जवाफमा देशकै ठूलो र धेरै नेता भएको पार्टीमा कुनै बेला सामान्य अन्तरविरोध र मतभेद आउनु स्वाभाविक भएको बताए ।

पार्टी एकतालाई थप मजबुत बनाउन शीर्षसहित पार्टीका दोस्रो, तेस्रो र चौथो तहका नेतृत्व समेत प्रयत्नरत रहेकाले कसैले पनि विचलित हुनुपर्ने अवस्था नरहेको उनले बताए । पार्टी एकताकै विषयलाई लिएर अन्तरसंङ्घर्षहरु चलिरहेकाले यसबाट पार्टी अझ एक ढिक्का र स्पातिलो बनेर जानेमा कार्यकर्ता पंक्तिलाई उनले विश्वास दिलाए ।

यता स्थानीय कार्यकर्ताले कुनै पनि हालतमा पार्टी फुट्न नहुने बताएका छन् । हाल शीर्ष नेतृत्वबीच भइरहेको द्वन्द्वको प्रभावले सकारात्मक सन्देश नदिएको बताउँदै कार्यकर्ताले पार्टी एकताका मन्त्री भट्टराईमार्फत पार्टीका अध्यक्षद्वयलाई दबाब दिएका छन् । ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहेका मन्त्री भट्टराईसमक्ष मिक्वाखोला गाउँपालिकाका कार्यकर्ताले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।