काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला समस्या समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक बोलाउन लचिलो भए पनि मिति तोक्न तयार भएका छैनन्।
सचिवालयको बैठक नै नबोलाउने अडान लिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताले लिखितरुपमा नै बैठक बोलाउन पत्र बुझाएका थिए । कात्तिक २३ गते सचिवालयका बहुमत सदस्यले लिखितरुपमा नै बैठक बोलाउन माग गर्दा समेत आलटाल गर्दै आएका ओलीले आफू पक्षीय नेताहरुसँग परामर्श गरेपछि मिति तोक्न तयार नभएका हुन् ।
मंगलबार सचिवालयको बैठक राख्नका लागि प्रचण्डले यही कात्तिक २७ गतेको मिति प्रस्ताव गरे पनि ओलीले अस्वीकार गर्नुभएको बताइएको छ । ओलीसँग सहमत हुन नसकेपछि प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा चार जना सचिवालयका सदस्यसँग भेटका बारेमा ब्रिफिङ गरेका थिए।
प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने– ‘मैले कात्तिक २७ गतेका लागि बैठक बोलाउन समय प्रस्ताव गर्दा पनि ओलीजीले मान्नुभएन ।’ औचापरिक बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए ।
स्थायी समितिका सुवास नेम्वाङले बैठक बोलाउन माग भएबमोजिम अध्यक्ष ओलीले महासचिव विष्णु पौडेललाई बैठक बोलाउन निर्देशन दिएको बताए। बैठकको मिति भने दुई अध्यक्षको सहमतिमा महासचिव पौडेलले तोक्ने उनले नेपाल समाचारपत्रलाई बताए।
पार्टीभित्रको चार महिना लामो विवाद समाधान गर्न गठित कार्यदल दिएको सुझावसहित भदौ अन्तिममा स्थायी समितिले गरेको निर्णय प्रधानमन्त्री ओलीले उल्लंघन गरेको भन्दै विवाद बढ्दै गएपछि नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच दूरी बढेसँगै सचिवालय बैठक पनि प्रभावित हुँदै आएको छ । सचिवालयको बैठक बोलाउन अध्यक्ष प्रचण्डले ओलीसँग माग गरे पनि अस्वीकार गरेपछि पाँच नेताले संयुक्तरुपमा लिखितरुपमा नै बैठक बोलाउन माग गरेपछि विवाद थप चुलिएको छ ।
ओलीले बैठक बोलाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिएसँगै सोमबार प्रचण्ड निवास खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । तर पार्टी अध्यक्ष बैठक बोलाउन अझै तयार नभएपछि सचिवालयका बहुमत पाँच सदस्य निरीहजस्तै बनेका छन् ।





प्रतिक्रिया