सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावको जवाफ दिँदै लिखित प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

ओलीले राखेको प्रस्ताव सचिवालय सदस्यहरुलाई खाममा वितरण गरिएको थियो ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले छुट्टै प्रस्ताव बैठकमा पेश गरेसँगै नेकपामा तरंग पैदा भएको थियो ।
दाहालको प्रस्तावमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले एकलौटी ढंगबाट सरकार र पार्टी चलाउन खोजेको र विगतमा आफूसँग भएका सहमतिविपरीत अघि बढेको लगायतका आरोप लगााउनुभएको थियो ।
त्यसपछि प्रधानमन्त्री ओलीले यही मंसिर १३ गतेको बैठकमा दाहालको प्रश्नको जवाफसहित अर्को प्रस्ताव पेश गर्नुभएको थियो ।
ओलीको प्रस्तावमा गत निर्वाचनको मत परीणाम र जनअपेक्षा र पार्टी एकीकरणको अंकगणित विपरीत दाहाल बढी महत्वाकांक्षी भएकोलगायतका आरोप लगााउनुभएको छ ।
दुवै अध्यक्षले एकअर्कालाई आरोप प्रत्यारोप लगाएसँगै नेकपाको आगामी रणनीतिबारे अन्योलता बढेको छ ।
आजको बैठकमा दुवै प्रतिवेदनमाथिको छलफलसँगै नेकपा निर्णायक मोडमा पुग्ने बताइएको छ ।
दुवै अध्यक्षका आरोप प्रत्यारोप लिखित रुपमै सचिवालय बैठकमा पेश भएसँगै समस्या समाधानका लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । दाहालले प्रस्ताव पेश गरेसँगै तथ्यहीन आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गर्न दवाव दिँदै दाहालसँग विभिन्न नेताहरुमार्फत दवाव दिनुभएको थियो ।
तर दाहालले सो प्रस्ताव छलफल हुनैपर्ने भएकाले फिर्ता नहुने अडान लिएपछि प्रधानमन्त्री ओलीले जवाफी प्रस्ताव ल्याउनुभएको हो ।
तर आज बस्ने बैठकले विवाद समाधनका लागि दुवै अध्यक्षको प्रस्ताव खारेज गरेर गत भदौ २६ गतेको निर्णअनुसार नै अघि बढ्न दवाव दिएको अध्यक्षद्वयका निकट नेताहरुले बताएका छन् ।





प्रतिक्रिया