सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी भित्र उत्पन्न सङ्कट समाधानका लागि यसअघि सचिवालय वैठकमा पेश गरेको दुवै अध्यक्षको प्रतिवेदन आइतबारदेखि शुरुहुन लागेको स्थायी कमिटीमा लगिने लागिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि आइतबारदेखि शुरुहुने स्थायी कमिटीलाई लान लागिएको हो । स्थायी कमिटीको बैठक यही दिउँसो १ बजेका लागि तय गरिएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सङ्कट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिए ।
मंसिर १३ गतेको वैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेकोे लिखित प्रस्तावपत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ ।
दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच अनौपचारिक छलफल पनि भइरहेको छ ।
गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्षनेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।
पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवाद बढेको छ ।





प्रतिक्रिया