देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थायी कमिटीलाई ओलीको पत्र- ‘सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहोस्’

देशान्तर

काठमाडौं । स्थायी कमिटी बैठकमा अनुपस्थित रहेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीहरुसँग सहयोग मागेका छन् । बैठकमा उपप्रधानमन्त्री ईश्वर पाखेरेलमार्फत् २ पृष्ठको पत्र पठाएका ओलीले अर्का अध्यक्ष (कार्यकारी) पुष्पकलम दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि औपचारिक छलफल गर्न नसकिने भएकोले आफू उपस्थित नभएको बताएका छन् ।

‘मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ,’ पत्रमा उनले भनेका छन्, ‘गत भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै संकटबाट सकुशल अवतरण गराउनुभएको थियो । आशा छ, कमरेडहरुले यसपटक पनि व्यक्तिविशेषको स्वार्थका लागि आन्दोलनकै सिकार हुने गरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ ।’

ओलीको पत्रको पूर्ण पाठः–

स्थायी कमिटीका प्रिय कमरेडहरु,

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गत: २०७७ कार्तिक २८ अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव‘ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ । पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत वहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनु पर्ने मेरो मान्यता यथावत् छ । एकीकरणका बााकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइालाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्ताव सहित पर्याप्त तयारीका साथ बैठकमा जानु पर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।

तर उक्त अभियोग–पत्र सहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरुलाई सार्वजनिक गरिएको छ । आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो सङ्गीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु । परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहादै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु ।

कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहादा नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्बीर मात्रै मेरो मनमा अङ्कित थियो । हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गर्‍यौं र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गर्‍यौा । एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखो । त्यसै अनुरुपका संरचाना निर्माण गरिए ।

तर मलाई थाहा थिएन– खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । आज पनि म दोहोर्‍याउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नु पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नु पर्दछ ।

सत्यसाग नलड्ने र शक्तिसाग नझुक्ने मेरो जीवन आदर्श हो । सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु ।

अत्यन्त उज्ज्वल संभावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गंभीर सङ्कटमा छ । यो सङ्कट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह/ सत्तामोहका कारण निम्तिएको छ । मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु । तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाा जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयाश रहिरहेको छ ।

मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ । गत: भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो । आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलन कै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुने छ ।

हार्दिक अभिवादन सहित,

केपी शर्मा ओली

अध्यक्ष एवं प्रधानमन्त्री

२०७७ मङ्सिर २१