काठमाडौँ – आइतबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि बोलाएको परिषद्को बैठकमा सभापति देउवा सहभागी हुन नसक्ने उनी निकट स्रोतले जानकारी दिएको हो ।
उनका अनुसार २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने जनाएका हुन । कांग्रेसले यसअघि नै मङ्सिर २९ गते सरकारको विरोधमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । प्रदर्शनको एक दिन अगाडि संवैधानिक परिषदको बैठक बोलाइएकोप्रति कांग्रेस नेताहरुले समेत आशंका गरेका छन् ।
परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । तर, बैठकमा देउवा उपस्थित नहुने भएपछि आइतबारको बैठक प्रभावित हुने देखिएको छ । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ ।
परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुखको स्थान रिक्त छ ।





प्रतिक्रिया