काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित दाहालसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।
नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए । सो अध्यादेश सरकारले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् ।
अध्यादेश ल्याइएपछि सत्तारुढ दल नेकपाभित्रै बाट ओलीको चर्को आलोचना भएको थियो भने प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत चर्को विरोध गरेको थियो । सोही अध्यादेशका कारण पार्टीभित्र र बाहिरका साथै सर्वोच्चमा समेत रिट परेपछि प्रधानमन्त्री ओली ब्याक हुन सहमत भएका हुन् । यस्तै बालुवाटारको छलफलमा ओली इतरसमूहले संसद बैठक बोलाउन अनुरोध गर्दै राष्ट्रपतिलाई बुझाएको हस्ताक्षर फिर्ता लिने सहमति पनि भएको छ ।





प्रतिक्रिया