देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज साँझ मन्त्रिपरिषद् बैठक बस्‍ने

देशान्तर

काठमाडौं । सोमबार जारी गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजका लागि अर्को अध्यादेश ल्याउन बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बस्‍ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका संवैधानिक निकायका करिब ४५ पदमा नियुक्तिका लागि सोमबारको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश सिफारिस गरेका थिए। उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै जारी गरिदिएकी थिइन्।

तर बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले सरकारले जारी गरेको अध्यादेश सर्वसम्मत फिर्ता लिने निर्णय गरेपछि मन्त्रिपरिषद् बस्‍न लागेको हो। आज साँझ ६ बजे मन्त्रिपरिषद् बस्‍न लागेको जानकारी एकजना मन्त्रीले दिएका छन्।

संवैधानिक व्यवस्था अुनसार पुरानो कानुनलाई यथावत फर्काउन अर्को अध्यादेश ल्याउनुपर्छ। त्यसका लागि मन्त्रिपरिषद् बैठकबाटै निर्णय लिएर राष्ट्रपतिकहाँ सिफारिस गर्नुपर्ने हुन्छ।

बुधबारको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री ओली आन्तरिक गृहकार्यमा जुटेका छन्। उनले आफूनिकट नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरिरहेका छन्। अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले घेराबन्दी गरेपछि थप रणनीति बनाउन ओलीले संसदीय दलका उपनेता सुवास नेम्बाङसहितका नेताहरुसँग छलफल गरेका हुन्।