काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको अपराधको साझेदार बनेकी आरोप लगाएका छन् । राष्ट्रपति भण्डारी अब देशको राष्ट्रपति नभई ओली गुटको सदस्य भएको थापाको जिकिर छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले भने, ‘जुन संसद्ले प्रधानमन्त्री र राष्ट्रपति बनायो, त्यही संसदमाथि अपराध भएको छ, राष्ट्रपतिबाट आशा थियो, तर त्यस्तो भएन । राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी मात्रै होइन, साझेदार बन्नुभएको छ, त्यसैले बाध्य भएर सडकमा आउनुपरेको छ ।’
थापाले प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको बताए । भने, ‘यसैगरी संसद विघटन गर्ने अवस्था नआओस्, यस्तो सन्काह बहुलठ्ठी प्रधानमन्त्रीले कुनै दिन संसद विघटन गर्ला भनेर जोगाउने धारा लेखेका छौं ।’
उनले संविधान र संसद् प्रधानमन्त्रीको अहंकारी प्रवृत्तिको सिकार भएको बताए । ‘मैले प्रचण्डलाई तपाईंको प्रधानमन्त्री बिरामी हुनुहुन्छ, विश्राम दिनुस् भनेको थिएँ, सुन्नुभएन । तपाईंको प्रधानमन्त्री भ्रष्ट हुनुहुन्छ भन्दा मान्नुभएन, त्यसैगरी दुई–अढाई वर्ष बित्यो, उहाँहरूले वेलैमा संसदीय दलमा गएर अविश्वासको प्रस्ताव लगेको भए आज प्रतिनिधिसभा विघटन गर्ने हिम्मत केपी ओलीसँग हुन्थ्यो ?,’ थापाले प्रश्न गरे ।
नेता थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल हुतिहारा भएकाले यस्तो अवस्था आएको पनि बताएका छन्। उनले यसअघि संसदमा पनि प्रधानमन्त्री ओलीलाई आराम गर्न दिन नेताहरुलाई सुझाएको स्मरण गरे। ‘प्रधानमन्त्री अस्वस्थ हुनुहुन्छ आराम गर्न दिनूस् भन्दा नेकपाका नेतारुले मानेनन्’, उने भने, ‘अहिले उनीहरु हुतिहारा निस्किँदा संसदलाई मार्ने काम भयो ।’





प्रतिक्रिया