देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधि सभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

देशान्तर

कठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको अधिवक्ता लोकेन्द्र वलीले जानकारी दिए। उनका अनुसार प्रधानन्यायाधीश राणाले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा पठाउनु पर्ने बताएका थिए।

संवैधानिक इजलासमा आगामी शुक्रबार मुद्दाको सुनुवाइ हुनेछ। संसद विघटनविरूद्ध संवैधानिक इजलासमा पनि एउटा रिट परेको छ। संवैधानिक विवादहरू नियमित र संवैधानिक इजलास दुबैमा दर्ता गर्न पाइने व्यवस्था छ। संवैधानिक इजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन्। संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले छान्नेछन्।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार अहिले संवैधानिक इजलासका लागि तयार भएको रोष्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकासिंह राउत र सपना प्रधान मल्ल छन्।