काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले ओलीको नयाँ राजा बन्ने सपनाले ओलीको ओरालो यात्रा शुरु भएको बताएका छन् ।
धादिङ–काठमाडौं सम्पर्क मञ्चले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेपछि ओलीको राजनीतिक यात्रा ओरालो लागेको बताए ।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै नेता पाण्डेले संसद पुनस्र्थापना हुनुपर्ने दाबी गरे । ‘अब ओलीलीले अदालत पनि विघटन गरें भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ? कुनै प्रवन्ध विना जे पनि गर्ने हो भने त्यो र यसमा के फरक छ ?’ उनले प्रश्न गरे ।
नेता पाण्डेले प्रधानमन्त्री ओलीलाई नयाँ राजा बन्ने ‘कुचेष्टा’ नगर्न चेतावनी समेत दिएका छन् । ‘प्रधानमन्त्री ओली नयाँ राजा होइनन् । नयाँ राजा बन्ने कुचेष्टा नगर्नु होला’, उनले भने, ‘खबरदार, यो बाटो हिंड्नु भयो भने तपाईको यात्रा धेरै परसम्म जानेवाला छैन ।’
संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको संसद पुनस्र्थापना हुने उनको दाबी छ । उनले कसैको अनुहार हेरेर निर्णय नगर्न संवैधानिक निकायलाई आग्रह समेत गरेका छन् । नेता पाण्डेले आफूहरुसँग बहुमत भएकाले पार्टी नाम र सूर्य चिन्ह आफ्नो हुने दाबी गरेका छन् ।





प्रतिक्रिया