बाँके – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गर्नु सबैभन्दा ठूलो अपराध भएको आरोप लगाएका छन्। अहिलेको अवस्थामा प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएको उनले बताए। पार्टीको बाँके जिल्लास्तरीय भेला तथा प्रशिक्षणलाई आइतबार नेपालगञ्जमा सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘कम्युनिस्टको बहुमत भएको संसद् विघटन गरी मुलुकलाई कहाँ पुर्याउन खोजिँदैछ । प्रधानमन्त्री ओलीलाई साविकको नेकपा एमाले र जनताको बहुदलीय जनवादभन्दा प्रधानमन्त्रीको कुर्सी प्यारो लाग्यो ।’
पार्टी एकतापछि साविक एमाले र माओवादीको रुपमा कित्ताकाट नहुने भन्दै उहाँले अबको आवश्यकता एकताबद्ध नेकपा नै भएको बताए। विवादअघिको केन्द्रीय कमिटीको बहुमत पक्ष नै आधिकारिक हुने भन्दै उहाँले नेकपा र सूर्य चुनाव चिह्न आफूहरूको नै हुने दाबी गरे। चुनाव गर्नका लागि मिति घोषणा नभएको दाबी गर्दै उनले अबको मिसन विघटित प्रतिनिधि सभाको पुनर्स्थापना नै भएको टिप्पणी गरे।
दुई अध्यक्षबीच सरकारको आलोपालो नेतृत्व गर्ने सहमतिबाट प्रचण्ड पछि हटेर प्रधानमन्त्रीलाई सहयोग गरेको, वरिष्ठ नेता माधव नेपालले एमालेको संसदीय दलको नेतामा ओलीलाई प्रस्ताव गरेको भन्दै उहाँले प्रधानमन्त्री ओलीमा म नै राज्य हो भन्ने अहमले गर्दा समस्या निम्त्याएको दाबी गरे। ‘प्रतिनिधि सभाको पुनर्स्थापना हुन्छ, नेकपा र सूर्य चिह्न हाम्रो हुनेछ’, उनले भने, ‘सरकार हामी बनाउँछौँ, दुई वर्ष पनि बहुमत पनि हाम्रो हुनेछ ।’ आत्मालोचनासहित आएमा प्रधानमन्त्री ओलीलाई पार्टीमा ल्याइने उनको भनाइ छ ।





प्रतिक्रिया