देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ उपमन्त्रीले राष्ट्रपतिलाई भेटे, अरुसँग आज भेट्ने

देशान्तर

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित अवस्थामा पुगेको नेकपाका नेताहरुलाई मिलाउन राजदूत होउ यान्छी निकै सक्रिय भइन् । सो सिलसिला जार्री रहेका वेला उत्तरी छिमेकबाट उपमन्त्रीकै नेतृत्वमा राजनीतिक टोली नेपाल आएको हो ।

नेपालको राजनीतिमा भारतको प्रत्यक्ष संलग्नता देखिए पनि उत्तरी छिमेकी चीनको यो तहको सक्रियता सम्भवतः पहिलो हो । यो भेटघाटले उत्तरी छिमेकी चीन पनि नेपालको राजनीतिमा प्रत्यक्ष संलग्न हुन चाहेको देखाउँछ ।

प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आइतबार नै भेट गर्ने तयारी गरे पनि रातिसम्म भेट भएको छैन। प्रधानमन्त्रीसँग टोलीको भेट सोमबारका लागि तय भएको छ।

प्रतिनिधिमण्डलले सोमबारै नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग र अर्का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गर्ने तय भएको छ । कोसँग कतिवेला भेट्ने भन्नेबारे तालिका सार्वजनिक गरिएको छैन ।

चिनियाँ टोलीले नेकपा वरिष्ठ नेता झलनाथ खनाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।